इटहरी : सुनसरीको कोशी गाउँपालिका–२ स्थित काली मन्दिरनजिक मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोशी गाउँपालिका–२ की ४५ वर्षीया कौसिला यादव रहेकी छन् । सोमबार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २७ प २८५५ नम्बरको १५० सिसीको बजाज मोटरसाइकलले सडक पार गर्दै गरेकी यादवलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र चालक बराहक्षेत्र नगरपालिका–७ निवासी करिब २१ वर्षीय सुमन सदालाई नियन्त्रणमा लिएको छ । सदालाई इलाका प्रहरी कार्यालय लौकहीमा राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post