विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३ विविध कार्यक्रम गरी मनाइएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरसहित प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालयमा शुक्रबार कार्यक्रम आयोजना गरिएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण, शोक सलामी तथा मौनधारण गरी वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
कार्यक्रममा अमर प्रहरी परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ खटिएका बेला UNAMID मिसनमा कर्तव्य पालनका क्रममा वीरगति प्राप्त गरेका प्रहरी कार्यालय सहयोगी अमर प्रहरी उमेशकुमार मेहत्तरलाई संयुक्त राष्ट्रसंघले प्रदान गरेको ‘ड्याग ह्यामरसोल्ड मेडल’ उहाँका परिवारका सदस्यलाई हस्तान्तरण गरिएको थियो।
प्रहरी दिवसका अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ। यस वर्षको एक लाख रुपैयाँ राशिको बाह्रौँ ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनाली र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक धर्मेन्द्र कार्कीलाई प्रदान गरिएको छ।
मैनालीले संखुवासभामा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा प्रहरी सेवालाई प्रभावकारी र जनमुखी बनाउन योगदान पुर्याएका थिए। कार्यसम्पादन सम्झौता मूल्यांकनमा कोशी प्रदेशका १४ जिल्ला प्रहरी कार्यालयमध्ये संखुवासभा उत्कृष्ट भएको जनाइएको छ। कार्कीले सुनसरीको रामधुनीमा दिनेशकुमार चौधरीको हत्यामा संलग्न सात जनालाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो।
त्यसैगरी, ‘देवकुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार’बाट प्रहरी वरिष्ठ नायव निरीक्षक भुवनसिंह बोगटी, प्रहरी सहायक हवल्दार विक्रम दाहाल, प्रहरी सहायक निरीक्षक सजना प्रसाईं र प्रहरी वरिष्ठ हवल्दार मेनुका राई यादव पुरस्कृत भएका छन्।
‘बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार’ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार युवराज खड्कालाई प्रदान गरिएको छ। ट्राफिक सचेतना, राजमार्ग सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुर्याएको भन्दै उनलाई २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदायमैत्री प्रहरी सेवा प्रवाह गरी उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्कीलाई उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा प्रहरी कर्मचारी, पूर्वप्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततिलाई शैक्षिक उपलब्धिका आधारमा छात्रवृत्ति पनि वितरण गरिएको थियो। स्नातक तहमा उत्कृष्ट अंक ल्याउनेलाई ३५ हजार, कक्षा १२ तर्फ २५ हजार र एसईईतर्फ १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो।
प्रहरी कार्यमा सहयोग गर्ने व्यक्ति तथा संस्थाका प्रतिनिधि, प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता र विभिन्न पुरस्कार कोषका संस्थापकलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाल प्रहरीले स्थापना कालदेखि नै राष्ट्र र नागरिकको सुखदुःखमा अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गर्दै आएको बताए। उनले प्रहरीको मनोबल बढाउन पुरस्कार कोष स्थापना गर्ने तथा प्रहरीलाई जग्गा उपलब्ध गराउने दाताप्रति आभार व्यक्त गर्दै पुरस्कृत प्रहरी कर्मचारी र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न आग्रह गरे।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टलगायतको उपस्थिति थियो।
यसै अवसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरे।
अमर प्रहरी परिवारसँग अन्तरक्रिया
प्रहरी दिवसकै अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अमर प्रहरी परिवारसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। प्रहरी नायव महानिरीक्षक शेखर खनालको उपस्थितिमा भएको कार्यक्रममा अमर प्रहरी परिवारका सदस्यले आफ्ना समस्या, गुनासा र सुझाव राखेका थिए।
खनालले संगठनको गरिमा र प्रतिष्ठाका लागि जीवन बलिदान गरेका अमर प्रहरीको योगदानको उच्च कदर गर्दै परिवारका सदस्यले उठाएका समस्या तथा जिज्ञासालाई सम्बोधन गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
















Discussion about this post