इटहरी : दुर्घटनामा मृत्यु भएका व्यक्तिलाई आफ्नै छोरा ठानेर अन्त्येष्टि गरेको मोरङको लेटाङस्थित एक परिवारले बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको खुलेपछि प्रहरीले घटनाको पुनः अनुसन्धान थालेको छ ।
लेटाङ नगरपालिका–५ खेरुवाका ३६ वर्षीय पदमबहादुर राय जीवितै घर फर्किएपछि सुनसरीको बराहक्षेत्रमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान खोज्नुपर्ने भएको हो ।
गत जेठ २६ गते बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको थियो । पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालमा राखेर आफन्तको खोजी गरेको थियो ।
प्रहरीले जारी गरेको सूचनाका आधारमा अस्पताल पुगेकी पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेपछि परिवारले शव बुझेर चिसाङ खोलामा अन्त्येष्टि गरेको थियो ।
तर, गत माघदेखि सम्पर्कविहीन पदमबहादुर दसैँको पूर्णिमाका दिन जीवितै घर फर्किएपछि अन्त्येष्टि गरिएको शव अर्कै व्यक्तिको भएको खुलेको हो । छोरा गुमाएको ठानेर दसैँमा टीकासमेत नलगाएको परिवारमा खुसी फर्किए पनि दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पदमबहादुर जीवितै भेटिएपछि सरकारी अभिलेख सच्याउने र मृतकको वास्तविक पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको छ । शव सनाखतका क्रममा तयार गरिएका कागजात फिर्ता लिने विषयमा पनि प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।
प्रहरीका अनुसार पदमबहादुरको परिवारले दुर्घटनामा मृत्यु भएको ठानेर बीमाबापतको क्षतिपूर्ति रकमसमेत बुझिसकेको छ । उनी जीवितै रहेको पुष्टि भएपछि उक्त रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहको नेतृत्वमा प्रहरी टोली पदमबहादुरको घर पुगेको थियो । परिवारलाई कोशी अस्पताल बोलाएर शव सनाखत र हस्तान्तरणका क्रममा अपनाइएका प्रक्रिया तथा कागजातबारे बुझ्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
मानसिक स्वास्थ्य अवस्था कमजोर रहेका पदमबहादुर यसअघि पनि कसैलाई जानकारी नदिई घर छाडेर हिँड्ने गरेको परिवारले जनाएको छ । गत माघमा घर छाडेपछि उनी लामो समय सम्पर्कविहीन भएका थिए ।
उनले आफू भारतमा रहेको बताए पनि त्यस अवधिमा कहाँ बसे र कसरी घर फर्किए भन्ने विषय स्पष्ट भइसकेको छैन ।
एउटा परिवारले आफ्नै सदस्य ठानेर अर्कै व्यक्तिको अन्त्येष्टि गरेको यस घटनाले दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान, शव सनाखत र आफन्तलाई शव बुझाउने प्रक्रियाबारे प्रश्न उठाएको छ ।
प्रहरीले वास्तविक मृतकको पहिचान खुलाउने तथा घटनासँग सम्बन्धित अभिलेख र क्षतिपूर्तिको विषय टुंग्याउने काम अघि बढाएको जनाएको छ ।
















Discussion about this post