उदयपुर : उदयपुरको गाईघाटमा आगामी मंसिर १७ देखि २७ गतेसम्म तेस्रो कोशी प्रदेशस्तरीय महोत्सव आयोजना हुने भएको छ । त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा १० दिनसम्म सञ्चालन हुने महोत्सव त्रियुगा नगरपालिका–३ स्थित बसपार्क नजिक त्रियुगा नदी किनारमा हुनेछ ।
‘भाषा, कला र संस्कृतिको उत्थान, बढाऔँ उद्योग, व्यापार र कृषि पर्यटन’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाका उद्यमी तथा व्यवसायी सहभागी हुने आयोजकले जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवीनकुमार बस्नेतले महोत्सवमा करिब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । महोत्सवमा १५० वटा व्यावसायिक स्टल रहनेछन् । विभिन्न खेल, सर्कस तथा बालबालिकाका लागि मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिनेछ । राष्ट्रिय कलाकारको सहभागितामा हरेक साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुने उनले जानकारी दिए ।
महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, वन तथा औद्योगिक क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने आयोजकको अपेक्षा छ । महोत्सवमा मौलिक कला, संस्कृति, परम्परा तथा स्थानीय उत्पादनको प्रदर्शन गरिनुका साथै व्यवसाय प्रवर्द्धन र उद्यमीको आर्थिक सशक्तीकरणमा जोड दिइने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवको प्रवर्द्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, टेकु काठमाडौं र कोशी प्रदेश उद्योग वाणिज्य महासंघ रहेका छन् । त्रियुगा नगरपालिका, जिल्ला समन्वय समिति उदयपुर, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्य रहने जनाइएको छ ।
एग्रो थाईफुड प्रालि मुख्य प्रायोजक तथा एसियन थाईफुड्स प्रालि र गोरखा ब्रुअरी प्रालि सहप्रायोजक रहेका छन् । सिटिजन्स बैंक लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक बैंकिङ साझेदारका रूपमा रहेका छन् ।
‘समृद्ध त्रियुगा, सेवामुखी समाज’ भन्ने नारासहित महोत्सव अवधिभर विभिन्न सामाजिक गतिविधिसमेत सञ्चालन गरिने संघले जनाएको छ ।
२०५८ सालमा स्थापना भएको त्रियुगा उद्योग वाणिज्य संघले २०६५ देखि २०७३ सालसम्म पूर्वाञ्चल क्षेत्रीय महोत्सव आयोजना गरेको थियो । संघले २०७४ फागुनमा पहिलो प्रदेश महोत्सव र २०८१ फागुनमा दोस्रो प्रदेश महोत्सव आयोजना गरिसकेको छ । यसपटक २०८३ मंसिरमा तेस्रो प्रदेश महोत्सव आयोजना गर्न लागेको हो ।
















Discussion about this post