उदयपुर : उदयपुरमा गत असोज महिनामा भएका ३६ वटा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा ५२ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनामा घाइते भएका सबैको विभिन्न अस्पतालमा उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । प्रहरीले ८० जनाको उद्धार गरेको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ । चालकको लापरवाहीका कारण ३१ वटा, सवारीसाधनको कमजोर अवस्थाका कारण २ वटा, यात्रुको कारण १ वटा र सडकको अवस्थाका कारण २ वटा दुर्घटना भएका हुन् ।
यसैगरी, असोज महिनामा प्रहरीले ३ हजार ४ सय ६९ पटक सवारीसाधन जाँच गरेको थियो । नियम उल्लङ्घन गर्ने ४ सय सवारीसाधनलाई कारबाही गरी ४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले समुदाय, विद्यालय, वडा तथा टोल विकास संस्थासँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले पनि चालक तथा यात्रुलाई लक्षित गरी १० स्थानमा १० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । ती कार्यक्रममा २ सय १० जना सहभागी भई लाभान्वित भएको प्रहरीले जनाएको छ ।
















Discussion about this post