उदयपुर : उदयपुरको गाईघाटस्थित थरुहट खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजक गाईघाट फुटबल क्लब पराजित भएको छ ।
सिराहाको सहलेस फुटबल क्लबले आयोजक गाईघाटलाई २–१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
त्रियुगा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल र भारतका आठवटा टिम सहभागी छन् । प्रतियोगिताका सेमिफाइनल खेल कात्तिक १८ र १९ गते तथा फाइनल खेल कात्तिक २१ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीसहित उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, प्रशिक्षक तथा सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
शनिबार भएको उद्घाटन खेलमा गाईघाटका जर्सी नम्बर ९ का अर्जुन रानाले खेलको ३२औँ मिनेटमा गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछाडि परेको सहलेसका जर्सी नम्बर १० का विज्ञान खड्काले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
दुवै टिमबीच प्रतिस्पर्धात्मक खेल भइरहेका बेला सहलेसका जर्सी नम्बर १३ का अभिषेक लिम्बूले खेलको ७८औँ मिनेटमा दोस्रो गोल गरे । त्यसपछि आयोजक गाईघाटले खेल बराबरीमा ल्याउन प्रयास गरे पनि सफल हुन सकेन । अन्ततः सहलेसले २–१ को जित निकाल्दै प्रतियोगिताको दोस्रो चरणमा स्थान सुरक्षित गरेको छ ।
खेलमा सहलेसका जर्सी नम्बर ८ का दोर्जे तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद सात हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
















Discussion about this post