इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी कात्तिक १८ गते बुधबार इटहरीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ । ‘Nepathya Live in Concert – Itahari’ नाम दिइएको कार्यक्रम इटहरी रंगशालामा आयोजना हुने भएको हो ।
पूर्वाञ्चल इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित ब्यान्डका सदस्यहरूले विभिन्न लोकप्रिय गीत प्रस्तुत गर्नेछन् । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा सक इनर्जी ड्रिंक्स रहेको आयोजकले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको संरक्षण तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय र कोशी प्रदेशको प्रवर्द्धनमा आयोजना हुन लागेको कार्यक्रमले पूर्वी नेपालमा सांगीतिक पर्यटनको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाली मौलिक संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल नेपथ्यको प्रस्तुति हेर्न कोशी प्रदेशका विभिन्न जिल्ला तथा आसपासका क्षेत्रबाट करिब १० हजार दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।

कार्यक्रमको उद्देश्य मनोरञ्जन प्रदान गर्नुका साथै इटहरीलाई पूर्वी नेपालको प्रमुख सांगीतिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्नु, आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु र स्थानीय होटल, यातायात, व्यापार तथा व्यावसायिक गतिविधिलाई चलायमान बनाउनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको छ । दर्शकको सहज प्रवेश, सुरक्षा व्यवस्था तथा कार्यक्रमस्थल व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक कुलबहादुर कार्कीले बताए ।
उनले कार्यक्रममा सहभागी भई सफल बनाउन सम्पूर्ण संगीतप्रेमी तथा दर्शकलाई सहयोग गर्न आग्रह गरेका छन् ।
















Discussion about this post