उदयपुर : उदयपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २.३३० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–३ हात्तीमारा र चौदण्डीगढी नगरपालिका–३ भोर्लेनीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको हो।
बुधबार साँझ करिब ५ बजे त्रियुगा नगरपालिका–३ हात्तीमारास्थित २४ वर्षीय अर्जुन रोक्काको घरमा लागूऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले खानतलासी गरेको थियो। सो क्रममा रोक्काको कोठाबाट प्लास्टिकका सातवटा पोकामा राखिएको २.०८० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा रोक्कासँगै त्रियुगा नगरपालिका–१२ बोटेटोलका २३ वर्षीय सञ्चित परियारलाई पनि पक्राउ गरिएको छ। प्रहरीले परियारले प्रयोग गरेको प्र.१–०५–००१ प ८०३४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
त्यसैगरी, चौदण्डीगढी नगरपालिका–३ भोर्लेनीमा डेरा गरी बस्ने २७ वर्षीय सुशान्त राउतलाई पनि २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। त्रियुगा नगरपालिका–१२ घर भएका राउतको कोठामा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले खानतलासी गर्दा टेबलमा प्लास्टिकको पोकामा राखिएको उक्त पदार्थ फेला पारेको थियो।
पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित सम्बन्धित प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

















Discussion about this post