रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने ‘डाम्राभिट्टा बजार पूर्व भुल्काडोभा जोड्ने बाटो’ अन्तर्गत कट्नु खोला पुल निर्माण सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको हो।
नवनिर्मित २५ मिटर लामो आरसीसी टी–गर्डर पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले उद्घाटन गरे। पुल उद्घाटन गर्दै मन्त्री आचार्यले निर्धारित समयभन्दा अगावै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनी र स्थानीयको सहकार्यको प्रशंसा गरे।
उनले प्रदेशमा वर्षौंदेखि अधुरा रहेका योजनालाई गति दिन सरकार सक्रिय रहेको बताउँदै समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नेसम्मको निर्देशन भइसकेको अवस्थामा निर्धारित समयभन्दा अगावै पुल निर्माण हुनु सकारात्मक सन्देश भएको उल्लेख गरे। पुल निर्माणले स्थानीयको आवागमन र आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउने उनको भनाइ थियो।
स्थानीयवासीका अनुसार वर्षायाममा कट्नु खोलामा आउने बाढीका कारण विद्यार्थी तथा सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो। पुल निर्माणसँगै कृषि उपज ढुवानी, बजारसम्मको पहुँच र बालबालिकालाई विद्यालय आउजाउ गर्न सहज भएको छ।
पुल निर्माणका लागि निःशुल्क जग्गा दान गरेका स्थानीय ज्येष्ठ नागरिक प्रेमबहादुर अधिकारीले आफ्नो चार दशक लामो सपना पूरा भएको बताए। भावुक हुँदै उनले २०४० सालदेखि नै यहाँ पुल निर्माणको माग गर्दै आएको र काठ तथा बाँसको पुल बाढीले पटकपटक बगाउने गरेको स्मरण गरे।
उनले पक्की पुल निर्माण भएको देख्दा छाती गर्वले फुलेको बताउँदै आफू अत्यन्त खुसी भएको उल्लेख गरे। कार्यक्रममा जग्गादाता अधिकारी र स्वर्गीय टेकबहादुर खत्रीको परिवारलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
योजनालाई प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्न पहल गरेका कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेती ‘सुशील’ले विकास निर्माणमा स्थानीय र जनप्रतिनिधिबीचको समन्वयको परिणाम देखिएको बताए।
उनले विगतमा दुई–तीन पटकसम्म बजेट परेर पनि आयोजना अघि बढ्न नसकेको उल्लेख गर्दै निरन्तर पहलपछि बजेट सुनिश्चित भएको र निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक समयमै काम सम्पन्न गरेको बताए।
उप्रेतीले सोही क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न एक करोड रुपैयाँ बजेट विनियोजन भएको र उक्त योजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउन आफूले प्रयास गरिरहेको जानकारी दिए।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यले दुई वर्षको म्याद पाएको काम १४ महिनाभित्रै सम्पन्न हुनु प्रशंसनीय भएको बताए। उनले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहित गरिने उल्लेख गरे।
रतुवामाई–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीले जोखिमपूर्ण बाँसको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गर्दै योजना सफल बनाउन खटिएका प्राविधिक तथा निर्माण कम्पनीलाई धन्यवाद दिए।
पूर्वाधार विकास कार्यालय मोरङमार्फत कुल ६ करोड ५३ लाख १७ हजार ६२६ रुपैयाँको लागतमा थानी–लेखराज–बुढाथोकी जेभीले पुल निर्माण गरेको हो।
पुल १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित छ। ६ मिटर चौडाइको क्यारिजवे र दुवैतर्फ १.२ मिटरका फुटपाथसहित निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै स्थानीयवासीले सुरक्षित आवागमनको सुविधा पाएका छन्।
निर्धारित समयभन्दा १० महिनाअघि नै आयोजना सम्पन्न हुनु कोशी प्रदेशको विकास निर्माणमा सकारात्मक उदाहरण बनेको छ।















Discussion about this post