मोरङ : मोरङको रतुवामाईमा घरनजिकै खेल्न गएका चार वर्षीय बालक बेपत्ता भएको भोलिपल्ट निर्माणाधीन घरको सेप्टिक ट्यांकीका लागि खनिएको खाल्डोमा मृत फेला परेका छन् ।
रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आशिक राजवंशीका चार वर्षीय छोरा रञ्जन राजवंशीको शव सोमबार दिउँसो घरदेखि करिब सात सय मिटर पूर्व कार्की टोलस्थित मोहम्मद अब्दुल्लाको निर्माणाधीन घरमा फेला परेको हो ।
प्रहरीका अनुसार रञ्जन आइतबार बिहान करिब ११ बजे घरनजिकै रहेको ठूलो बुबाको घरमा खेल्न गएका थिए । त्यसक्रममा बुवाले घर फर्कन भने पनि उनी घर नआएपछि परिवारले खोजी सुरु गरेको थियो ।
बालक नभेटिएपछि आइतबार साँझ ५ः३० बजे उनका बुवाले प्रहरी चौकी गोविन्दपुरमा जानकारी गराएका थिए । त्यसपछि प्रहरीले स्थानीयसँगको समन्वयमा खोजी थालेको थियो ।
खोजी जारी रहेकै अवस्थामा सोमबार दिउँसो स्थानीय सिलिया देवीले निर्माणाधीन घरमा सेप्टिक ट्यांकीका लागि खनिएको खाल्डोमा जमेको पानीमा बालकलाई डुबेको अवस्थामा देखेकी थिइन् । उनले तत्काल प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बू नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ । प्रारम्भिक अवस्थामा घटना शंकास्पद नदेखिएको जनाउँदै प्रहरीले खेल्ने क्रममा बालक खाल्डोमा खसेको हुनसक्ने आशंका गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post