इटहरी : कोशी प्रदेशका चार जिल्लामा प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको कारबाहीमा भारतीय परिवारका तीन सदस्यसहित नौ जना पक्राउ परेका छन् ।
मोरङ, झापा, इलाम र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई ब्राउनसुगर तथा प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत बिहारका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र छोरा करण पासवान छन् । उनीहरूलाई मोरङको रंगेली नगरपालिका–४ चोप्राहा नाकाबाट २९ ग्राम ४८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्तिक ३० गते विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पैदलयात्राका क्रममा लागूऔषध लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका–८ का ३३ वर्षीय राजकुमार चौधरी ४ ग्राम २२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी गरामनीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
इलामको फिक्कलमा गरिएको जाँचका क्रममा झापाको मेचीनगर नगरपालिका–२ का ३४ वर्षीय विशाल योगी ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
सुनसरीको लौकहीबाट इटहरी–७ का २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरी १ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । त्यस्तै धरान उपमहानगरपालिका–८ का २१ वर्षीय अनिश धामी ५२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
धरान–११ का २७ वर्षीय समिर माझी भने ट्रामाडोलका १८५ क्याप्सुल र स्पास्पेनका १८५ ट्याब्लेटसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका नौ जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
















Discussion about this post