सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा शनिबार दिउँसो आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीय लियाकत अन्सारीको घरमा दिउँसो १:३५ बजे अचानक आगलागी भएको हो। आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तनलगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन्।
स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा देवानगञ्ज गाउँपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो। समयमै आगो नियन्त्रणमा लिएकाले आसपासका घरमा आगलागी फैलिन पाएन।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
आगलागीबाट घरबारविहीन बनेको अन्सारी परिवारलाई राहत तथा बासस्थानको व्यवस्था गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।
















Discussion about this post