धरान : आगामी मंसिर २७ र २८ गते आयोजना हुन लागेको पहिलो धरान फिल्म फेस्टिभलमा निःशुल्क कार्यशालाका लागि आवेदन खुलेको छ । आयोजक विपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.ले फेस्टिभलको आधिकारीक फेसबुक पेजमार्फत आवेदन फारम खुलेको जानकारी गराएको हो ।
कार्यशालामा तीन जना मेन्टरहरू रहेका छन् । लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँ र स्क्रिप्ट डाक्टर मनोज पण्डितले सहजीकरण गर्ने फेस्टिभलका निर्देशक विनोद विश्वकर्माले जानकारी दिए ।
उनका कार्यशाला तथा मास्टर क्लासमा कलाकार तथा निर्माता बानियाँले चलचित्र उद्योग र करियरका अवसरहरू, कथा वाचन र चलचित्र निर्माणसम्बन्धी आधारभूत विषय, अभिनय र निर्देशनभन्दा बाहिरका भूमिका, प्रविधि, एआई र सिनेमाको भविष्य, चलचित्र व्यवसाय र उद्यमशीलता विषयमा सहजीकरण गर्नेछन् ।
त्यस्तै, लेखक तथा निर्देशक भट्टराईले स्थानीय कथादेखि मुलधारको नेपाली सिनेमासम्म र स्क्रिप्ट डाक्टर पण्डितले चलचित्र निर्माताजस्तै कसरी सोच्ने भन्ने विषयमा सहजीकरण गर्नेछन् ।
कार्यशालामा सहभागी हुन इच्छुक सहभागीहरुले फेस्टिभलको वेबसाइटमा गएर निशुल्क रुपमा आवेदन दिन सक्ने इभेन्ट म्यानेजर आर.बी.कट्वालले जानकारी दिए । उनका अनुसार फेस्टिभलको वेबसाइटसँगै इभेन्ट व्यवस्थापक इभेन्टलयको वेबसाइट तथा एपबाट समेत नाम दर्ता गर्न सकिनेछ ।
कार्यशाला पहिलो दिन दुई मेन्टर र दोस्रो दिन एक मेन्टरबाट सञ्चालन हुनेछ । जहाँ १८ देखि ४५ वर्षसम्मका चलचित्र, लेखन, निर्देशनमा रुचि हुनेहरूले नाम दर्ता गर्न सक्नेछन् ।
कोशी प्रदेशलाई चलचित्र हब बनाउनका लागि कोशी भित्रका चलचित्र निर्माणमा रूचि राख्ने, लेखनमा रूचि राख्ने, युवा तथा नवआगन्तुक चलचित्रकर्मीलाई कार्यशालाले थप महत्वपूर्ण भूमिका खेल्ने निर्देशक विश्वकर्माले जानकारी दिए ।
आवेदनका लागि १५ मंसिरसम्म फर्म भरिसक्नुपर्ने आयोजकले जनाएको छ ।















Discussion about this post