रानी–विराटनगर–इटहरी–धरान निर्माणाधिन ६ लेनको सडक निर्माणको क्रममा सुनसरीको दुहवीका स्थानीयले ‘बिल्टअप’ क्षेत्रको संरचना नभत्काउन माग राखेका छन् ।
दुहवी बिल्टअप एरिया सङ्घर्ष समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारले दुहवीको ६ सय ३० मिटर बजार क्षेत्रलाई बिल्टअप क्षेत्रका रूपमा घोषणा गरी राजपत्रमा प्रकाशित गरेको हुनाले उनीहरूले नभत्काउन माग राखेका हुन् ।
‘पूर्वाञ्चलको ऐतिहासिक बजारको रूपमा दुहबी स्थापित भएको छ’ सङ्घर्ष समितिको उपाध्यक्ष बीपी रौनियारले पत्रकार सम्मेलनमा भने, ‘ऐतिहासिक बजार भएको कारणले गर्दा दुहबीको ६ सय ३० मिटर क्षेत्रलाई तत्कालीन सरकारले २०५४ चैत ३ गते बिल्टअप क्षेत्रको रूपमा घोषणा गरी राजपत्रमा समेत प्रकाशित भएको छ । अहिले ऐतिहासिक बजार क्षेत्रलाई राज्यले भत्काउने तयारी गरेको छ ।’
उनले कुनै हालतमा पनि राजपत्रमा प्रकाशित भएको बिल्टअप क्षेत्रको संरचना भत्काउन नहुने उनले बताए । ‘
बिल्टअप क्षेत्रमा सडक विस्तार गर्न नमिल्ने भएकोले स्थानीयको मागलाई बेवास्ता गरी निर्माण प्रक्रियाको काम अगाडि बढाए अन्दोलनमा उत्रिने उनको चेतावनी थियो । बिल्टअप क्षेत्रमा २ सय ५४ घर रहेका छन् ।
२०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार दुहबी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो ।














Discussion about this post