धरान : धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु भएको छ ।
धरानको वडा नं. २० मा रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सामाजिक शाखाका प्रमुखसहितको टोलीले आज (विहीबार) आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरेर सुरु भएको हो ।
नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगार कार्यक्रम रहेको बताउँदै यो वर्ष धरान उपमहानगरपालिकाका १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका बरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर ५ सय १७ रुपैँया पारिश्रमिक पाउनेछ ।
‘हामीले धरान उपमहानगर भरिका १५, १६ वटा आयोजनाहरु छनौट गरेका छौं, त्योमध्ये एउटा महत्वपूर्ण योजना यो ड्रेनको माटो सफा गर्ने रहेको छ, २० नं. वडामा ।’ उनले भने ।
उक्त वडामा १५ जनाले रोजगार पाएको उनले बताए । उनीहरुले आजबाट काम गर्न थालेको र क्रमशः धरान उपमहागरका १ सय ५७ जनालाई नै एक सय दिनका लागि काम दिने उनले बताए ।
धरान उपमहानगरका मेयर तिलक राईले एक सय दिनको कामले केही समय रोजगारदाताको गुजारा चल्ने बताए । उनले भने, ‘आफ्नै घरगाउँको नाला, ड्रेन खन्ने, तपाईँको रोजगारी दिने, समाजमा काम पनि देखिने गरी राज्यले यस्तो परिकल्पना ल्याएको हो ।’












Discussion about this post