इटहरी : इटहरी उपमहानगरमा प्रमुख द्धारिकलाल चौधरीले नेकपामा देखिएको विग्रहले यहाँको विकासमा कुनै प्रभाव नपर्ने दाबी गरेका छन् ।
इटहरी वडा नम्वर ४ को वडा कार्यालय भवन शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले इटहरीको ग्रामीण क्षेत्रका सबै मुलबाटोहरु कालोपत्रे गरिसक्ने बताउँदै नेकपामा हाल देखिएको विग्रहले विकास निर्माणका काममा कुनै प्रभाव नपर्ने दाबी गरेका हुन् ।
आफूहरुको कार्यकालमा इटहरीको ग्रामीण क्षेत्रका सबै मुलबाटोहरु कालोपत्रे गरिसक्ने बताउँदै बहुवर्षीय सडक योजना अन्र्तगत गाँउ–गाँउका मुलबाटोहरु धमाधम कालोपत्रे भइरहेको र हालसम्म पाँच वटा मुल बाटो कालोपत्रे भइसकेको उनले बताए ।
गाँउलाई सहरसँग जोड्दै ग्रामीण जनतालाई उपमहानगरबासी भएको अनुभूति हुन थालेको उनको भनाई छ । आफनो सम्पूर्ण ध्यान इटहरीको विकासमा भएकाले यो बर्ष गत वर्षहरु भन्दा वढि विकास भएर इटहरीको विकास र समृद्धिले नयाँ उचाई प्राप्त गर्ने उनले बताए ।
वडा कार्यालय शिलान्यास कार्यक्रममा वडाध्यक्ष चन्द्र भट्टराईले इटहरी वडा नम्वर ४ मा विकास निर्माण कार्यले तीव्रता पाएको बताए । उक्त वडा कार्यालय भवन ८६ लाख ४४ हजार ४सय ४४ रुपैँयाको लागतमा निर्माण हुन लागेको उनले बताए ।
केही दिन अघि मात्र वडा नम्वर ८ को वडा कार्यालय भवन शिल्यान्यास गरिएको थियो । वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले प्रदान गरेको २२ धुर जग्गामा वडा कार्यालय भवन शिल्यान्यास गरिएको थियो ।
इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार यो आर्थिक वर्षमा आठ वटा भवन निर्माण हुनेछन् ।














Discussion about this post