इटहरी (डेस्क) : मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएको हो । कानेपोखरी घर भएका परियार सानैदेखि उर्लाबारीतिरै बस्ने गरेको पाइएको छ ।
परियारविरुद्ध यसअघि नै कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता भइसकेको छ । उनलाई प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आज (मङ्गलबार) नै अदालतमा पेस गर्ने तयारी गरेको छ । बास्तोला मृत्यु प्रकरणमा जोडिएपछि फरार बनेहरुको खोजी तीव्र बनाएको प्रहरीले प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ ।
मृत्यु प्रकरणमा जोडिएका उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार मात्रै एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । गिरीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेर सोमबार अदालतमा बुझाएको थियो ।













Discussion about this post