इटहरी : उपचारबापतको शुल्क तिर्न नसक्दा विराटनगर अस्पतालमा सुनसरीका एक युवक अलपत्र परेका छन् ।
उपचारबापतको रकम भुक्तानी गर्न नसक्दा इनरुवा नगरपालिका–७ चाँदबेलाका १९ वर्षीय रविन सरदार एक महिनादेखि विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा अलपत्र बनेका हुन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका १६ बालग्राममा रहेको सनसाइन एकेडेमी बोर्डिङ स्कुलले उनको उपचार गराए बापतको पैसा तिर्न आनाकानी गरिरहेको छ ।
स्कुलको ना ८ ख ८४१८ नम्बरको बस र रविनले चलाएको को २४ प ७३२६ नम्बरको मोटरसाइकल ठोक्किएर गत माघ २१ गते दुर्घटना भएको थियो ।
दुर्घटना गराउने सवारी र चालक भने उपचार खर्च नतिरी छुटिसकेका छन् । इटहरी ८ फूलबारी टोलमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको टाउकोमा गहिरो चोट लागेको थियो । अस्पतालका न्युरो सर्जन डा. विवेक वैद्य नेतृत्वको चिकित्सक टोलीले टाउकाको शल्यक्रिया गरेको थियो । पैसा नहुँदा मुखको भने शल्यक्रिया हुन सकिरहेको छैन ।
उपचार ठीक भएको भन्दै अस्पतालले गत फागुन ४ गते नै
डिस्चार्ज दिइसके पनि स्कुलले उपचार खर्च नतिर्दा उनी अस्पतालमै छन् ।
दुर्घटनालगत्तै बसका चालक इटहरी बालग्रामकै ४५ वर्षीय गोपाल नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, पक्राउ परेको केही दिनपछि चालक र बसलाई प्रहरीले छाडेको थियो ।
Discussion about this post