इटहरी । सुर्खेतबाट धरान आउँदै गरेको यात्रुबहाक बस बाँकेको कोहलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३७ यात्रु घाइते भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस शुक्रबार बेलुका बाँकेको कोहलपुर नगरपालिका–१३ रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको ना अ अ प४१ नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ का २१ वर्षिय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षिय खगेन्द्र सुनार, सुर्खेतको साटाखानीका ४० वर्षिय जीवन विक, झापाको मेचीनगर नगरपालिका–१० का बसधनी ४५ वर्षिय छत्र कटुवाल रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
यस्तै एक जना अन्दाजी ३५ वर्षीय भारतीय महिलाको मृत्यु भएको छ। उनको सनाखत भईनसकेको प्रहरीले जनाएको छ।
मृतक मध्ये कोहलपुरका दुई जना टिपरमा सवार थिए भने अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाईते भएकामध्ये ७ जनाको अवस्था गम्भीर छ भने १४ जनाको अवस्था मध्यम छ। २१ जना घाईतेको अवस्था सामान्य रहेको बताइएको छ । घाईतेहरुको उपचार कोहलपुर मेडिकल कलेजमा भईरहेको छ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।













Discussion about this post