धरान : धरान उपमहानगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई फारम वितरण भराउने तयारी गरेको छ ।
धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन प्रमाणिकरण तथा नाप नक्शा गर्ने कार्यमा सहयोग र सहजिकरण गर्न बनेको भूमि सम्बन्धि समस्या समाधान सहजिकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न फारम वितरण गर्ने भएको छ । धरानको २० वटै वडामा कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ ।
सहजीकरण समितिको पहिलो बैठकले आज (सोमबार) देखि शनिबारसम्म प्रचार प्रसार गर्ने, विशेष गरेर धरान उपमहानगरको सबैभन्दा बढी सुकुम्बासीको बसोबास रहेका वडाहरु ५, ११, १३, १५, १६ र १७ मा कार्यक्रम गरी प्रचार प्रसार गर्ने भएको छ ।
यसको लागि सहजीकरण समितिका सदस्यहरुसँग समन्वय गरी प्रचार प्रसार सामग्री तयार गर्ने निर्णय गरिएको लगत संकलन इकाई प्रमुख बेद प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिडको संक्रमण तथा भीडभाड व्यवस्थापन गरी सकेसम्म घरघरमा गएर फारम भराउने कार्यका लागि योजना बनाउन सबै वडाहरुलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।
वैशाख १२ गते आईतबारदेखि फारम भराउने कार्य सुरुवात गरिने बैठकले निर्णय गरेको छ ।














Discussion about this post