इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी गरेको छ । यसअघि प्रशासनले २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार यसअघि जोरबिजोर प्रणालीअन्र्तगत यातायातका साधन सञ्चालन, विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म होटल सञ्चालन तथा अन्य पसलहरु विहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर, मंगलबार दिउँसो बसेको डिसिसिएमसिको बैठकले ३१ गते मध्यरातिसम्म अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुनेगरी निर्णय गरेको हो ।
‘मंगलबार रातिदेखि ३१ गते मध्यराति १२ बजेसम्मको लागि बन्दाबन्दीको आदेश गर्ने निर्णय गरेका छौँ,’ ढकालले भने, ‘सबै पालिकाका प्रमुख, उपप्रमुख, सुुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको बसेको बैठकले यो निर्णय गरिएको हो ।’
उनले लकडाउनको अवधिमा औषधी, खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको जानकारी दिए । अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि मंगलबार रातिदेखि बैशाख ३१ गते रातिसम्म जिल्लाभर पूर्णरुपमा रोक लगाइएको ढकालले बताए ।
यस्तै, खाद्यबस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्री लगायत अत्यावश्यक पसल व्यवसायहरु विहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको छ ।
त्यस्तै, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र विहान १० बजेसम्म खोल्न पाइनेछ । अन्य पसलहरु पुर्णरुपमा बन्द हुने तथा स्थानीयस्तरमा होम डेलिभरीको व्यवस्था मिलाउन सकिने बैठकले निर्णय गरेको बुझिएको छ ।
उक्त नियमको पालना नगरे कारबाहीको दायरा समेत अगाडि बढाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post