बिराटनगर : प्रदेश सरकारमार्फत कोरोना भाइरसको पहिचान, निदान, उपचार, बिरामी ओसारपसार र शव व्यवस्थापनमा खटिएका अग्रपंक्तिमा रहेर काम गर्ने कसैको निधन भएमा एकमुष्ट २५ लाख रुपैयाँ रकम प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेश १ सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्यक्ष रूपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी साथै कर्मचारी कोरोना भाइरसका कारण मृत्यु भएमा क्षतिपूर्तिबापत एकमुष्ट २५ लाख रुपैयाँ प्रदान गरिने भएको हो । त्यस्तै कोरोना संक्रमित भई बिरामी भएको हकमा भने सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचारमा गर्दा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।
होम आइसोलेसनमा बस्न नसक्ने अवस्था आई घर बाहिर बस्ने कोरोनाका बिरामीलाई लाग्ने सम्पूर्ण खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिएका छन् ।
प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरु तलव स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गरिने भएको छ ।
प्रत्यक्ष खटिनेहरुलाई पनि प्रदेश सरकारले खाना तथा खाजासहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गर्ने जनाइएको छ । क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिनबापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गरिने निर्णय भएको प्रेस संयोजक सुवेदीले जानकारी दिएका छन् ।














Discussion about this post