धनकुटा : धनकुटामा आज (सोमबार) एकैदिन ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन संक्रमण पुष्टि भएको यो हालसम्मकै धेरै संख्या हो ।
जिल्ला अस्पतालको ल्याबमा १२८ जनाको पीसीआर परीक्षण गर्दा ३० पुरुष र ३० महिलाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
जिल्लाको सहिदभूमि गाउँपालिका बाहेक ६ वटा पालिकामा सो संख्यामा संक्रमित थपिएको उनले बताए ।
धनकुटा नगरपालिकामा १७ जना, चौविसे गाउँपालिकामा १४ जना, साँगुरीगढी गाउँपालिकामा १३ जना, महालक्ष्मी नगरपालिकामा १० जना, पाख्रीवास नगरपालिकामा ४ जना र छथर जोरपाटी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । चौविसेको एउटै वडाका १४ जनामा संक्रमण पुष्टि भएको छ । साँगुरीगढीमा पनि संक्रमण पुष्टि भएका १३ जना नै एउटै वडाबासी हुन् ।
यो सँगै धनकुटामा दोस्रो चरणमा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या १९१ पुगेको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँका अनुसार संक्रमित मध्ये २० जना निको भएका छन् भने हालसम्म तीनजनाको मृत्यु भएको छ ।














Discussion about this post