धरान : छातीमा १२ इञ्च लामो रड छिरेर गम्भीर घाइते भएका एकजना कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल रुपमा जटिल शल्यक्रिया भएको छ ।
जेठ ११ गते राति आकस्मिक शल्यक्रिया गरिएका झापाका ३८ वर्षीय पुरुष हिजो निको भएर डिस्चार्ज समेत भइसकेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुणामणि पोखरेलले जानकारी दिए ।
उनका अनुसार जेठ ११ गते दिउँसो घरको भित्ता प्लाष्टर गर्दा गर्दै ६ फिट उचाईबाट खसेर देब्रे पट्टी करिब १२ इञ्च (३० सेमी) रड छातिभित्र छिरेको थियो । विरामीको एक्स रे, सिटि स्क्यान र अन्य परीक्षणहरु गरेर तत्काल अप्रेशन गर्नुपर्ने निर्णय चिकित्सकको टोलीले गरेकाले सफल शल्यक्रिया समेत भएको उनले बताए ।
डा. रुपेश प्रसाद शाह, डा. विजय श्रेष्ठ, डा. रतिस कर्ण, डा. अर्विन्द, डा. पवन सापकोटा, एनेस्थेसिया विभागका प्रा.डा. सत्येन्द्र नारायण सिंह, डा. योगेश ढकाल, डा. विशाल देव, डा. अरुण मण्डल साथै नर्सहरु जानकी चौधरी, गीता राई, ओ.टी टेक्निसियन रञ्जन पाठक, हेल्पर दल बहादुर खड्का लगायतको टिमले करिब ४ घण्टा लगाएर सफलतापुर्वक शल्यक्रिया गरेको पोखरेलले जानकारी दिए ।
उनलाई छातीमा रड ननिकालेकै अवस्थामा करिब ४ बजेतिर प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइएको थियो ।
शल्यक्रिया गर्नुअघि जेन एक्सपर्टबाट पीसीआर रिपोर्ट पोजेटिभ आएपनि चिकित्सकहरुको टिमले अप्रेशन गरेका थिए । शल्यक्रिया पछि घाइतेलाई कोभिड अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । थप उपचार पश्चात जेठ १७ गते पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।












Discussion about this post