धरान : निषेधाज्ञा खुकुलो भएसँगै सुनसरीको धरानमा कोरोना संक्रमितको संख्या र मृत्युदर बढेको छ । निषेधाज्ञा जारी गर्नुअघि धरानमा एक सय जनाको पीसीआर जाँच गर्दा ७० देखि ८० जनासम्मलाई कोरोना संक्रमण भएको र दैनिक २ देखि ३ जनाको मृत्यु हुने गरेको थियो ।
धरान उपमहानगर स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या र मृत्युदर बढ्न थालेको छ ।’ उनका अनुसार धरानमा मृत्युदर करिब ३ प्रतिशत रहेको छ भने संक्रमण दर पनि बढेको छ ।
कोरोनाको दोस्रो लहरमा धरानमा ७८ जनाले ज्यान गुमाइसकेका छन् । उनका अनुसार लामो समयको निषेधाज्ञापछि पछिल्लो एक सातायता मात्र कोरोना संक्रमणबाट धरानमा १६ जनाले ज्यान गुमाएका छन् भने करिब ४ सय जना नयाँ संक्रमित थपिएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ चिकित्सकहरूले पनि सर्वसाधारणको लापरबाहीले तेस्रो लहर आउन सक्ने र त्यसले झन् बढी मानवीय क्षति पुर्याउनेमा सचेत गराउँदै आएका छन् ।
प्रतिष्ठानको माइक्रो बायोलोजी विभागकी पूर्वविभागीय प्रमुख प्रा.डा. बसुधा खनालले भनिन्, ‘तथ्यांकले संक्रमणको दर कम भएको देखाएको छैन । लकडाउन अवधिमा पनि र लकडाउन खुकुलो भएपछि सावधानी नअपनाउँदा संक्रमणको दर र मृत्युदरमा कमी नदेखिएको हुन सक्छ ।’
कान्तिपुर दैनिकबाट साभार ।














Discussion about this post