इटहरी : सुनसरीमा अब सार्वजनिक सवारी सञ्चालनमा आउने भएको छ । कोरोना महामारीका कारण बन्द भएको सार्वजनिक सवारी सञ्चालनमा आउने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक सिडिओ तथा सूचना अधिकारी महेशकुमार पाखेरेलले दिएको जानकारी अनुसार सोमबार बसेको बैठकले बुधबार (असार २३) गतेदेखि लागू हुनेगरी जिल्लामा सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘पर्सिदेखि निजी र सार्वजनिक यातायात जोरबिजोर गरी सञ्चालन गर्न दिनेगरी निर्णय भएको छ,’ उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर यातायात सञ्चालन गर्नुपर्नेछ ।’ पोखरेलका अनुसार यात्रुहरुलाई ध्यानमा राखेर राजमार्ग छेउमा रहेका होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन गर्न दिइने भएको छ ।
‘हामीले झापा र मोरङमा पनि समन्वय गरेर यो निर्णय गरेका हौँ,’ उनले भने, ‘सवारी सञ्चालनमा जिल्लाभरीका लागि यो निर्णय गरिएको हो, यद्यपि अन्य जिल्लासँग पनि समन्वय छ ।’
उनका अनुसार राजमार्ग आसपासका होटल, रेष्टुरेन्ट पनि बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको छ । डीसीसीएमसीको सोमबार बसेको बैठकले होटल, रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको उनले बताए ।
त्यस्तै, असार ३१ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा समेत थप गरिएको छ । यसअघि प्रशासनले असार २२ गतेसम्मका लागि मात्रै निषेधाज्ञा थप गरेको थियो ।
अन्य निर्णय भने यथावत् रहने सुनसरी प्रशासनले जनाएको छ ।















Discussion about this post