मोरङ : मोरङको मिक्लाजुङमा एक व्यक्तिको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ गाउँपालिका ७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या गरिएको हो ।
मिक्लाजुङ ६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गर्दा लिम्बूको मृत्यु भएको उनले बताए ।
प्रहरीका अनुसार रविन तामाङ र उनकी श्रीमती निरुता मृतक लिम्बूका छिमेकमा कोठाभाडामा बस्दै आएका थिए । उनीहरुबीच झगडा हुँदा लिम्बू भदौ ३ गते राति ८ः४० बजेतिर घटनास्थलमा पुगेका थिए ।
परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सम्झाईबुझाई गर्ने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र ५५ वर्षीय दुर्गाबहादुर कार्कीमाथि दाउराले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा शनिबार राति ११ः४५ बजे मृत्यु भएको हो ।
कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।













Discussion about this post