धरान : इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत कीर्ते गरी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका ५ तल्लो देउरालीमा डेरा गरी बस्ने ५२ र्षीय कुमार थापा मगर भन्ने अमरबहादुर लामिछाने रहेका छन् ।
आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भनेर प्रलोभन देखाई सर्वसाधरण मानिसहरुलाई ठगी प्रलोभनमा पारी नगद रकम लिई लोकसेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो वापत मोटो रकम माग समेत लिए पश्चात लेनदेन प्रकृतिको कागज बनाई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको हो ।
प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाण्डौँ लेखिएको डिजिटल छाप थान १, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौँ लेखेको रवरको छाप थान १, गोप्य लेखेको रवरको छाप थान १, जिबछ लामिछाने समेत लेखेको रवरको छाप थान १ नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौँ लेखेको रवरको छाप थान १, प्रहरी निरीक्षक लेखेको रवरको छाप थान १, उपसचिव लेखेको रवरको छाप थान १ तानसहित पक्राउ गरेको छ ।
यस्तै, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप थान १, लोकसेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल छाप थान १, शाखा अधिकृत लेखेको छाप थान १ लगायत सो सम्बन्धित विभिन्न कागजातहरु बरामद गरेको छ ।
पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत कीर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post