इटहरी : इटहरीमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेश भट्टराईका अनुसार इटहरी ३ सुनौलो बस्तीमा आज (शुक्रबार) दिउँसो करीब ३ः४० बजेको समयमा छुरा प्रहारबाट एक युवकको हत्या गरिएको हो ।
स्थानीय ५८ वर्षीय देवीप्रसाद अधिकारीको छुरा प्रहारबाट सोही स्थानका २२ वर्षीय राजु थापाको मृत्यु भएको उनले जानकारी दिए ।
‘छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको लागि लैजाने क्रममा मृत्यु भएको हो,’ प्रहरी निरीक्षक भट्टराईले टाकुरासँग भने, ‘छुरा प्रहार गर्ने व्यक्तिपनि गम्भीर घाइते भएकाले उपचारका लागि लगिएको छ ।’
उनका अनुसार छुरा प्रहार गर्ने अधिकारी र मृत्यु हुने थापा छिमेकी हुन् । सामान्य विवादको विषयलाई लिएर अधिकारी र थापाबीच भएको विवादको क्रममा अधिकारीले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।
‘हत्यापछि आक्रोशित स्थानीय तथा आफन्तको भीडलाई सम्झाउने प्रयास गरिरहेका छौँ, घटनाबारे थप अनुसन्धान पनि अगाडि बढाइएको छ,’ उनले भने ।













Discussion about this post