मोरङ : हुन्डीको आठ लाख २० हजार रुपैयाँसहित एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले विराटनगर–१८ भेडियारीबाट को २९ प ८६४० नम्बरको स्कुटरमा सवार झापा बिर्तामोड–३ का ३४ वर्षीय उमेश साहलाई पक्राउ गरेको हो ।
भारतबाट अवैध रूपमा सो रकम ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको रकमको स्रोत खुल्न नसकेको र प्रारम्भिक अनुसन्धानबाट साह भरिया भएको खुल्न आएको प्रहरीको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार साहको साथबाट नेपाली नगद एक हजारको ३३५ थान, पाँचसयको ६४० थान, एक सयको १६०० थान र ५० को १०६ थान नोट बरामद भएको छ ।
रकमसहित पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले बताएका छन् ।











Discussion about this post