मोरङ : चाँदीबाट बनाइएका वस्तुसहित सशस्त्र प्रहरीले शुक्रबारसाँझ विराटनगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
दुई किलोग्रामजति चाँदीबाट बनाइएका औँठी, विभिन्न देवीदेवताका आकृति र सिक्काजस्तो देखिने वस्तुसहित विराटनगर महानगरपालिका–१५ का ४५ वर्षीय बलराम सिंह पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार सिंहलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट साँझ नियन्त्रणमा लिइएको हो।
चाँदीबाट बनेका वस्तुलाई बेल्ट पेटीले शरीरमा बाँधेर ल्याउँदै गर्दा उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको पौडेलले बताएका छन् । उनका अनुसार बरामद भएको धातु चाँदी हो कि हैन भनेर थप प्रमाणित गर्नका लागि प्रक्रिया अघि बढाइएको छ।
‘शंकास्पद अवस्थामा भारतबाट नेपालतिर आउँदै गरेका व्यक्तिको शरीरमा खानतलासी गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा चाँदीबाट बनाइएका सामग्रीहरु प्रहरीले फेला पारेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका सिंहलाई बरामद भएको वस्तुसहित आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको बताएका छन्।
नेपालबाट तस्करी गरेर चाँदी भारत पु¥याउने र विभिन्न आकार दिएपछि नेपालतिरै अवैध तरिकाले ल्याउने गरिएको हुनसक्ने आशंका सशस्त्र प्रहरीले गरेको छ । विशेष गरेर सुन, चाँदी लगायतका धातुको कारोबार तिहारका बेलामा धेरै हुन्छ ।
तिहारलाई लक्षित गरेर चाँदीबाट बनाइएका सामग्री भारतबाट अवैध रूपमा नेपालतिर ल्याइएको हुनसक्ने सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले बताएका छन् ।
चाडपर्वका बेला नेपाल–भारत सीमानाकाबाट हुनसक्ने अवैध धन्दा नियन्त्रण गर्न उनले सशस्त्रको विशेष टोली परिचालन गरेका छन् ।
‘निगरानी बढाउँदै नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन विशेष टोली परिचालित छ,’ डीआईजी गिरीले भने, ‘विभिन्न वस्तुको अवैध ओसारपसारलाई नियन्त्रणमा लिने जिम्मेवारी टोलीलाई छ ।’











Discussion about this post