धरान : धरान ८ स्थित जय श्री अटल पम्प अगाडि बसले मोटरसाइकललाई ठक्कर दिदाँ ३ जना घाइते भएका छन् भने एक जना गम्भीर रहेका छन् ।
कोशी राजमार्गमा धरान बजारतर्फ आइरहेको मे १ ख ३१९६ नम्बरको मौषम यातायातको बसले सोही दिसामा अगाडि गइरहेको को १९ प ८३७१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक मोरङ केराबारी ४ का ४३ वर्षीय खगेन्द्र लिम्बू र उनका २ छोरीहरु ९ वर्षीया भरोषा र ७ वर्षीया खिसुङ घाइते भएका थिए । घाइते मध्ये भरोरा र खिसुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
घाइते मध्ये खगेन्द्र र खिसुङको अवस्था सामान्य छ भने भरोषा केही गम्भीर रहेकी छिन् । उनको टाउको र खुट्टामा चोट लागेको र केही गाह्रो भइरहेको बुबा खगेन्द्रले बताएका छन् ।
जिल्ला ट्राफिक कार्यालय सुनसरीका अनुसार बस चालक ठकेन्द्रबहादुर कार्की र बस इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ ।
बस र मोटरसाइकल एउटै दिशाबाट आइरहेको र मोटरसाइकल मोडिएर पम्पतिर जान खोज्दा बसले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Discussion about this post