मोरङ : बूढीगंगामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका एक जना भारतीय नागरिकको आज बिहान मृत्यु भएको छ ।
प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताएका छन् ।
उनका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–१ गंगा चोकमा ठक्कर दिँदा पैदल हिँडिरहेका पटेल गम्भीर घाइते भएका थिए ।
सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति ८ बजेतिर मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पटेलको उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका ४ का ३० वर्षीय अशोक अधिकारी सामान्य घाइते भएका छन् ।
अधिकारीको विराट शिक्षणमै उपचार भइरहेको छ ।














Discussion about this post