इटहरी : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ बाट ८ जनाको उमेद्वारी परेको छ । मंगलवार भएको मनोनयन दर्तामा तीन सिटका लागि ८ जनाको उमेद्वारी परेको हो ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार गठबन्धनले नेपाली कांग्रेसबाट गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीबाट महिलातर्फ जयन्ती राई र जनता समाजवादी पार्टीबाट अपाङ्गता÷अल्पसंख्यकतर्फ हेमराज राईले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, नेकपा एमालेले मोरङका गुरु बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अपाङ्गता÷अल्पसंख्यकतर्फ सोलुखुम्बुकी सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले झापाबाट अम्बरबहादुर विष्ट र महिलातर्फ रन्जु प्याकुरेलले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहका अध्यक्ष, प्रमुख, उपाध्यक्ष, उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा १ नम्बर प्रदेशमा ३६४ मतदाता छन् ।
प्रदेश सभाका ९३ मतदाता रहेकोमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनको पद रिक्त भएर ९२ मतदाता छन् भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएका कारण २७२ जना मतदाता छन् ।
नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल फागुनमा सकिन लागेकाले चुनाव हुँदैछ ।














Discussion about this post