इटहरी : नेपाली कांग्रेस इटहरी नगर समितिले कार्यकर्ता प्रशिक्षणलाई तीव्रता दिएको छ ।
कांग्रेसको भर्खरै सम्पन्न अधिवेशनमार्फत निर्वाचित भएका वडा तहमा पदाधिकारी सहितका कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको हो ।
आइतबार यहाँका २० वटै वडाका वडा सभापति, कार्य समितिका सदस्यहरूलाई पार्टीको नीति नियम, सिद्धान्त तथा पार्टीको संशोधित विधानको बारेमा प्रशिक्षित गराइएको हो ।
इटहरीका प्रत्येक वडाबाट वडा समितिका पदाधिकारी र सदस्यसहित १० जना गरी दुई सय बढीको सहभागिता रहेको थियो । कांग्रेसको नीति, सिद्धान्तको विषयमा जिल्ला सभापति केदार भण्डारीले प्रशिक्षण दिएका थिए ।
नवनिर्वाचित समितिका सदस्यहरूलाई माईन्यूट लेखन, उद्घोषण, बैठक सञ्चालन लगायतका विषयमा जिल्ला सचिव वीरेन्द्र शाहले प्रशिक्षण दिए ।
यस्तै, कांग्रेस र प्रेस युनियनको सम्बन्ध साथै सञ्चार माध्यम मार्फत मुद्धाहरुको उठानका विषयमा नेपाल प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईले प्रशिक्षण दिएका थिए ।
वडा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानाले निर्वाचन लक्षित कामलाई गाउँ–गाउँसम्म पुर्याउनुपर्ने बताए ।
आगामी निर्वाचनमा इटहरीमा नेपाली कांग्रेसलाई विजयी बनाउन वडा तहदेिख नै परिवर्तनको लहर देखाउनुपर्ने उनको भनाइ छ ।
यस्तै, जिल्ला सभापति केदार भण्डारीले सम्पूर्ण नगर कमिटीहरूले टोल समिति विस्तारको कामलाई तीव्रता दिन आग्रह गरे । हरेक टोलमा टोल समिति निर्माण गर्ने र उनीहरूलाई प्रशिक्षण गर्दै सुनसरी जिल्लामा कांग्रेसको नयाँ जागरण सुरु गर्नुपर्ने उनको भनाइ छ ।
इटहरी नगर सभापति हेमकर्ण पौडेलले कार्यकर्ता प्रशिक्षणलाई निरन्तरता दिने बताए । नगर कमिटीले चाँडै नै स्थास्थ्य शिविर लगायतका सामाजिक कामलाई अगाडि बढाउने उनले बताए ।



















Discussion about this post