धरान : ठगीको आरोप लागेका कथित महामानव भनिने टीकाप्रसाद विश्वकर्माका समर्थकहरूको समूहले धरानस्थित कोशीपत्र दैनिकको कार्यालयमा पुगेर धाकधम्की दिएका छन् ।
विश्वकर्माका पूर्वसहयोगी तथा पूर्वसमर्थकहरूले आफुहरू ठगिएको भन्दै पत्रकार सम्मेलन गरेपछि लेखिएको समाचारबारे धरान ८ स्थित कोशीपत्र दैनिकको कार्यालयमा पुगेर धम्की दिएका हुन् ।
समूहले कार्यालयका कर्मचारी र सञ्चारकर्मीहरूलाई धम्की दिएका थिए ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका सचिव ध्रुव ढकालले एक विज्ञप्ती जारी गर्दे महामानव बनेर करोडौको ठगी भन्ने शीर्षकमा प्रकाशित समाचारबारे पत्रिकाको कार्यालयमा हुलजत्था लिएर प्रमाण खै, कसले लेखेको, किन लेखेको लगायत अपशब्द प्रयोग गरि धम्की दिएको र यस किसिमको घटनाले प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुग्ने जनाएका छन् ।
महासंघले यस्ता घटना तत्काल रोक्न र पुनः दोहोरिन नदिन आग्रह पनि गरेको छ ।
Discussion about this post