मोरङ : मोरङको सुनवर्षी नगरपालिका ९ भेडुवाथानस्थित बीपी आधारभूत विद्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार स्थानीय सन्तोषकुमार दासका ३ वर्षीय छोरा खेम दासको सेप्टी ट्यांकीमा डुबेर मृत्यु भएको हो ।
विद्यालय अगाडि चियानास्ताको पसल गर्दै आएकी सन्तोषकी पत्नी जमुनादेवी बिहीबार साँझ ५ बजेतिर विद्यालयको शौचालयमा गएका बेला पछिपछि उनका छोरा पनि गएको बताए । जमुनादेवीले छोराको खोजी गर्ने क्रममा उनले लगाएको चप्पल एउटा सेप्टी ट्यांकी बाहिर र अर्को चप्पल सेप्टी ट्यांकीमा देखेपछि होहल्ला गरेकी थिइन् ।
५ फिट गहिरो रिङ हालेर बनाइएको सेप्टिक ट्यांकभित्रबाट स्थानीयले नाबालक खेमलाई अचेत अवस्थामा निकालेर रंगेली अस्पतालमा उपचारका लागि लगेको डीएसपी श्रेष्ठले जानकारी दिए । उपचारको क्रममा साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
विद्यालयमा महिला र पुरुष गरी दुई वटा रहेको शौचालयमध्ये महिला शौचालयको सेप्टी ट्यांकीको ढक्कन खुला रहेको छ ।
उक्त विद्यालयका प्रधानाध्यापक सञ्जीव राजवंशीले गत असारमा ढक्कन बनाएर दुवै शौचालयको सेप्टी ट्यांक छोपेको तर, स्थानीय केही युवाहरुले साउन महिनामा नै महिला शौचालयको सेप्टिक ट्यांकको ढक्कन फुटाइदिएको प्रतिक्रिया दिए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post