विराटनगर : प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले जनताका चाहाना र भावना अनुसार काम गरिरहेको बताएका छन् ।
नेपाल टेलिभिजन इटहरीद्वारा उत्पादित कार्यक्रम ‘प्रदेश प्रसङ्ग’मा बोल्दै मन्त्री कार्कीले एक सय दिनको अवधिमा अघिल्ला सरकारले ट्र्याक बाहिर लगेका सुशासनका कुराहरूलाई सही मार्गमा ल्याएको बर्ताएका हुन् ।
अहिलेको सरकारले आगामी दिनमा गर्ने कामको ‘रोडम्याप’ पनि तयार बनेको बताए ।
मन्त्री कार्कीले भने, ‘अघिल्ला सरकारले धेरै कुराहरू ट्र्याक बाहिर लगेको थियो । त्यो कुरा मैले सरकार बाहिर हुँदा पनि प्रस्ट रूपमा राखेको हुँ । त्यस्ता कुरालाई हामीले ट्याकमा ल्याएका छौँ । साथै हाम्रो मन्त्रालयमा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने हो भन्ने कुराको रोडम्याप पनि बनाएका छौँ ।’
प्रदेश १ को नामकरणमा समेत अहिलेको सरकारले अग्रसरता लिएको उनले बताए ।
कार्कीले भने, ‘एउटै पार्टीको दुई तिहाइ बहुमत हुँदा पनि नामकरण हुन सकेन, हामी त गठबन्धनमा छौँ, त्यसका लागि हामीले स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएका छौँ । हामीले नामकरण प्रक्रिया अगाडि बढाएका छौँ । नामकरणका लागि हामीलाई नेकपा एमालेको पनि सहयोग चाहिन्छ ।’
नामकरणका लागि आगामी फागुन १० गते सरकारले सर्वदलीय बैठक आव्हान गरेको छ ।














Discussion about this post