इटहरी : भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले इटहरीका युवकसहित अर्का युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका १६ का ३४ वर्षीय कमल घिमिरे र सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा लक्ष्मण गुरागाईंलाई रहेका छन् ।
उक्त परिमाणको १० वटा सिक्रीसहित आगमन टेनल गेटबाट घिमिरेलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा गुरागाईंले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गएर घिमिरेले ल्याएको सुनको सिक्री लिएर भन्सार चेकजाँच क्षेत्र पास गराएको खुलेको छ।
यसरी अध्यागमन कर्मचारीले भन्सार चेकजाँच क्षेत्र पास गराएको पाइएपछि गुरागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ।
बरामद सुनको सिक्रीसहित दुबै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ।














Discussion about this post