सङ्खुवासभा : सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष किन्साङ भोटेसहित सात जनालाई जग्गा कीर्ते प्रकरणमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार वडाध्यक्ष भोटे, मालपोत कार्यालयका नायब सुब्बासहित सात जनालाई स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा वडाध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी १ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका ४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिश गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेका छन् ।
उनीहरूले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोग छ ।
मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजात नागरिकताको प्रतिलिपि, घरबाटो सिफारिस तथा जग्गा नामसारी गर्ने सिफारिस समेत वडाध्यक्ष भोटेले खाँदबारीमै बसेर तयार पारेका थिए ।
दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एक मात्र सन्तान बिममाया तामाङ हुन् । उक्त जग्गा ७५ वर्षीया छोरी विममाया नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ ।
२७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेसन पास गरिएको छ । बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ गते पासाङ शेर्पाको नामबाट कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरिएको छ ।
पक्राउ परेकाहरुलाई ठगी र कीर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ ।














Discussion about this post