इटहरी : इटहरीमा फोहोर प्रशोधन केन्द्र संचालनमा आएको छ ।
फोहोर प्रशोधन केन्द्रबाट ग्याँस उत्पादन थालिएको छ । प्रशोधन केन्द्रको प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरे ।
इटहरी उपमहानगरपालिका, बैकल्पिक उर्जा प्रवद्र्वन केन्द्र र वेस्ट एण्ड इन्भारो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र संचालनमा ल्याइएको हो ।
वैकल्पिक उर्जा प्रवद्र्वन केन्द्रमार्फत विश्व बैँकको ६० प्रतिशत अनुदान र वेस्ट एण्ड इन्भारो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको छ ।
इटहरी उपमहानगरपालिकाले जग्गा, त्यहाँसम्म पुग्ने कालोपत्रे बाटो र पर्खाल लगाउने कार्य गरेको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ ।
केन्द्रको प्रत्येक दिन आठ सय केजीसम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । सड्ने फोहोरबाट मात्र ग्याँस उत्पादन हुन्छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर बिक्री गरिने उनले बताए ।
प्रशोधन केन्द्रको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री आर्चायले नगरका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर फोहोरमैलाको उचित ब्यवस्थापन हुन थाल्नु सकारात्मक रहेको बताए ।
नगरप्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको बताए ।














Discussion about this post