इटहरी (डेस्क) : विभिन्न जिल्लामा मोटरसाइकल चोरीमा संलग्न पेसेवर गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ प्रहरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चोरिएका सातवटा मोटरसाइकलसहित पेसेवर गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका १ बुधनगरका २० वर्षीय हरिओम मण्डल, सोही ठाउँका २० वर्षीय पन्नलाल राजवंशी, १८ वर्षीय विशाल राजवंशी, कटहरी गाउँपापलिका २ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर ४ कञ्चनबारीका २२ वर्षीय प्रकाश राजवंशी रहेका छन् ।
यस्तै, चोरी गरेको मोटरसाइकल खरिद गरी बिक्री साथै व्यवस्थापन गर्ने धनकुटा साँगुरीगढी गाउँपालिका १ का ३२ वर्षीय थामबहादुर राई र सोही ठाउँका ३५ वर्षीय मनकाजी राई रहेका छन् ।
पक्राउ परेका पाँच जनाको समूहले प्र.१–०२–०४६ प ६४० नं. को बजाज कम्पनीको २२० सिसीको पल्सर, प्र.१–०२–०४७ प ३९२४ नम्बरको बजाज कम्पनीको १२५ सिसीको पल्सर, को १३ प ८२७५ नं. आरटीआर अपाची, बिआर.३८ डी ४५०४ होण्डा कम्पनीको साइन र प्र. १–०२–०४४ प २५७ नं. को बजाज कम्पनीको १५० सिसीको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरू पेसेवर मोटरसाइकल चोरीमा संलग्न रहेका प्रतिवादीहरू रहेको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७७।०७८ मा मोरङमा १ सय ४० वटा मोटरसाइकल चोरीको उजुरी परेको थियो ।
उजुरीको आधारमा प्रहरीले ५८ जना चोरीमा संलग्न प्रतिवादीलाई पक्राउ गरी २७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको प्रहरीको अभिलेखमा देखिन्छ ।
यस्तै चालु आर्थिक वर्षको साउनसम्ममा २३ वटा मोटरसाइकल चोरी भएको उजुरी मोरङ प्रहरीमा दर्ता भएका छन् ।
Discussion about this post