इटहरी : नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल (ई–क्यान) ले शैक्षिक मेलाको तयारी गरेको छ ।
संघले सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २२, २३ र २४ गते इटहरी, धरान र विराटनगरमा शैक्षिक मेलाको तयारी गरिएको जानकारी गराएको हो ।
ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीले तेस्रो पूर्वाञ्चल ई–क्यान मेला हुन लागेको बताए ।
उनका अुनसार भदौ २२ गते इटहरीको दुर्गा पार्टी प्यालेस, २३ गते धरानको सिद्वि नेवा परिषद्को भवन र २४ गते विराटनगरको नमस्कार होटलमा कार्यक्रम आयोजना हुनेछ ।
‘वैदेशिक अध्ययनका लागि पढ्न पठाउने कन्सल्टेन्सीको छाता संगठनले तीन वर्षयता हरेक वर्ष शैक्षिक मेला आयोजना गर्दै आएको छ,’ लकान्द्रीले भने, ‘शिक्षामा अब्बल विद्यार्थीहरू आर्थिक रूपमा समस्यामा परिरहेको अवस्था पनि छ, यस विषयमा पनि हामीले सहजीकरण गर्ने उदेश्यले यो मेलाको आयोजना गरिएको होे ।’
उनका अनुसार हरेक दिन १० देखि ५ बजेसम्म सञ्चालन हुने मेलामा दैनिक एक हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गरी परामर्श लिनेछन् ।
विभिन्न ठाउँका व्यवसायीहरूले राखेको स्टलमा विद्यार्थीहरूले परामर्श गर्ने तथा उनीहरूलाई दक्ष एवम् अनुभवी व्यक्तिहरूबाट परामर्श समेत दिइने उनले बताए ।
२६ वर्षमा प्रवेश गरेको ई–क्यानले विदेश पढ्न जाने विद्यार्थीका लागि स्कलरसिप प्रदान समेत गर्ने तयारी गरेको लकान्द्रीले बताए ।
कार्यक्रमका संयोजक कमल तिम्सिनाका अनुसार शैक्षिक परामर्शमा बौद्विक व्यक्तिहरूको उपस्थिति हुने भएकाले नवीनतम् ‘गाइडलाइन’ बारे विद्यार्थीहरूलाई परामर्श दिइनेछ ।
‘प्रदेश १ लाई शैक्षिक हब बनाउने उदेश्य रहेकाले पनि हामीले हरेक वर्ष ई–क्यान मेलाको आयोजना गर्दै आएका छौँ,’ उनले भने, ‘यस वर्ष पनि विद्यार्थीमा भएका कन्फ्युजनबाट मुक्त गराउनसँगै शैक्षिक हबको रूपमा विकास गर्न मेलाको आयोजना गरिएको हो ।’
उनका अनुसार तीनदिने मेलाको कुल लागत २५ देखि २६ लाख रुपैयाँ अनुमान गरिएको छ ।














Discussion about this post