धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै मेयर साम्पाङको राजीनामा माग गरेको हो ।
‘सञ्जालमा अत्यधिक दम्भ र आफू बाहेक अरु कोही पनि सक्षम नरहेझैँ शैलीमा जुन किसिमले इन्जिनियरको क्षमता र यस पेशामा आवद्व, अध्ययनमा उर्जाका साथ समर्पित सम्पूर्ण इन्जिनियरप्रति गरिएको अपमानपूर्ण टिप्पणीको विरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
मेयर साम्पाङले काठमाण्डाँै महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति इङ्गित गर्दै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा इन्जिनियरले राजनीति गर्ने होइन भनेका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका अध्यक्ष आभाष अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘इन्जिनियरमाथि प्रयोग गरिएको तुच्छ शब्दले उहाँको विवेकशीलता, कुटनैतिक क्षमता र बालीको परिपक्कमाथि प्रश्न उठेको छ ।’
‘यस्तो गैरजिम्मेवार नेतृत्व धरानले पाइरहँदा धरानको विकास भविष्य अन्धकारमा पुग्न लागेको कुरा सहजै स्वीकार्न सकिन्छ । आफू केही गर्न नसक्ने र अरूको कामलाई विरोध गर्ने, धरानको विकासमा अघि बढ्न भ्याइनभ्याइ हुनु पर्ने बेलामा सानो सोच राखेर भ्रष्टाचारी नेताहरूको शैलीलाई पछ्याउँदै हिँड्नुले उहाँ अब अराजकताको बाटोतिर लम्कनुभएको कुरा प्रस्ट्याउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कुराप्रति सम्पूर्ण धरान बासीलाई सचेत गराउँदै नगरप्रमुख हर्क साम्पाङले तुरुन्त आफ्नो पदबाट राजीनामा नदिए कडा आन्दोलनमा जाने चेतावनीसहित यो विज्ञप्ति पेश गरिएको छ ।’












Discussion about this post