इटहरी : इटहरीमा साहित्यकार टीका मिलनको उपन्यास सङ्ग्रह पटाक्षेप विमोचन भएको छ ।
शनिबार इटहरी ५ पचरुखीको जेष्ठ नागरिक भवनमा सङ्ग्रहको विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंक न्यौपाने, अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्साल, कवि रेखा सुवेदी, लेखक रामप्रसाद खरेल, चुडाबसन्त लम्सा लगायतले उपन्यासको विमोचन गरेका थिए ।
कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै कवि रेखा सुवेदीले बाल्यकालमा सँगसँगै हिड्दै आएका किशोरावस्थाका केटाकेटीले प्रेम गरेको दृश्यलाई उपन्यासमा चित्रण गरिएको बताइन् ।
उपन्यासमा विसङ्गति, अन्याय, अत्याचारका विरुद्ध पनि विभिन्न पात्रमार्फत चित्रण गरिएको सुवेदीले बताइन् । मिहिन ढंगले उपन्यास लेखिएको उनको भनाइ छ ।
कार्यक्रममा टिप्पणी गर्दै लेखक रामप्रसाद खरेलले उपन्यासले मन छुकछुक बनाइदिने बताए । उपन्यास सकिएपनि त्यसले मन उद्वेलित बनाइदिने खरेलले बताए । उपन्यास वियोगान्त कथामा आधारित रहेको उनको भनाइ छ ।
जनजागरण पुस्तकालयको ४० औं शृङ्खलाको अवसर तथा १५ औँ पुस्तकालय दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
Discussion about this post