तरहरा : इटहरी २० तरहरामा रहेको तरहरा मोडेल एकेडेमीमा बाल दिवसको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरिएको छ ।
बुधबार ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर विद्यालय प्राङ्गणमा विविध कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार बालबालिकाले आफ्नो हक, अधिकार र संरक्षणका निम्ति स्वविवेक प्रयोग गर्न सकुन् भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कतिपय अवस्थामा बाल यौन दुव्र्यवहार, बालअधिकार हनन, बालविवाह जस्ता गतिविधि भइरहेकाले ती कुराहरूलाई प्रतिकार गर्नका लागि बालबालिका सक्षम हुन् भन्ने उदेश्यले कार्यक्रम गरिएको श्रेष्ठले बताए ।
विद्यालयले हरेक वर्ष गर्दै आएको अतिरिक्त क्रियाकलापभित्र उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले आम नागरिकलले बालापन गुजारा गरेर आएको बताए ।
उनले भने, ‘मानव अधिकार मानिसले पाउने अधिकार हो, यो अधिकार हरेक बालबालिकाले पनि पाउनुपर्छ ।’ उनले पछिल्लो समय बाल यौन दुव्र्यवहार तथा जबरजस्ती करणीका घटना पनि बढेकाले त्यसतर्फ सचेत हुन पनि अपिल गरे ।
उनले बालबालिकामाथि हुने हिंसाको विरुद्वमा आवाज उठाउन समेत लागिपर्नुपर्ने बताए ।
कार्यक्रममा इटहरी २० का वडासदस्य तनुज गुरुङ (सुरेश), विद्यालयका प्रिन्सिपल घनश्याम रिमाल, सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद पौडेल, सञ्चालक होमनाथ खड्का, लगायतले बोलेका थिए । यस्तै, कार्यक्रममा विद्यार्थीहरूले आफूभित्र रहेको प्रतिभा समेत प्रस्तुत गरेका थिए । साथै, विद्यालयका शिक्षक रुपक थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।














Discussion about this post