विराटनगर : एमालेबाट केही दिन अगाडि माओवादी केन्द्रमा प्रवेश गरेका मोरङ बूढीगंगा गाउँपालिकाका नेता बदभद्र सरदार थारुले आफू लगायतको चरित्र हत्या गर्ने गरी एमालेले जारी गरेको विज्ञप्ति प्रति गम्भीर आपत्ती जनाएका छन् ।
सरदारले एक विज्ञप्ति प्रकाशित गरी नेकपा एमाले बूढीगंगाको नाममा एउटा विज्ञप्ति जारी गरेर लगाएको आरोपप्रति आपत्ती जनाएका हुन् ।
‘हामीमाथि मानहानी हुने गरी गालीगलौजको स्तरमै तल गिरेर प्रस्तुत हुनु केबल हारको मानसिकता, अराजकता र अराजनीतिक चरित्र बाहेक अरु केही पनि नभएको पुष्टी हुनजान्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेकपा एमालेको एउटा झुण्डबाट भएको यो ढंगको क्रियाकलापबाट हामीले लिएको निर्णय वास्तवमा सही निर्णय रहेछ भन्ने सहजै बुझ्न सकिन र ? यसबाट हामी थोरै पनि विचलित नभई अझ उर्जाका साथ अगाडि बढ्ने प्रण पनि गर्दछौं ।’
उनले एमालेमा आबद्ध सबैमा बेलैमा सही निर्णय दिन पनि अपिल गरेका छन् । उनले नेकपा एमाले भन्ने पार्टी केबल स्वार्थी समूहको झुण्ड मात्र रहेको र गरिव, उत्पीडित वर्गको पार्टी नहरेको कारण एमालेको भविष्य खोज्नका निमित्त केबल दास बन्नुपर्ने अवस्था रहेको पनि बताएका छन् ।
‘अब नेकपा एमालेबाट समाजवादी क्रान्ति सम्पन्न हुन सक्दैन, कम्युनिष्ट आन्दोलनको नेतृत्व हुन सक्दैन र अब यो केही व्यक्तिहरुको गरिखाने भाँडो मात्रै रहयो,’ विज्ञप्तीमा भनिएको छ, ‘अब हामीजस्ता जनताको सुखदुःखमा अहोरात्र खटिने भूमिपुत्रहरुलाई एमालेमा कुनै स्थान छैन ।’
सरदारले परिवर्तनको संवाहक, थारु मधेशी, दलित, जनजाति, महिला, मुस्लिमलगायत उत्पीडित वर्गको हक हितका लागि ज्यानको बलिदानी दिनसक्ने पार्टी नेकपा माओवादी केन्द्र र यसको नेतृत्व प्रचण्ड नै हो भन्ने ठानेर सो पार्टीमा प्रवेश गरेको पनि स्पष्ट पारेका छन् ।













Discussion about this post