मोरङ : मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा संयुक्त लोकतान्त्रिक–बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनील शर्माले उद्योगको रसायनका कारण क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले सरकारी उदासिनताका कारणले नियम विपरीत मानव बस्तीमा सञ्चालित उद्योग धन्धाबाट उत्सर्जन हुने रसायनका कारण मानव स्वास्थ्यमा क्यान्सरजस्ता प्राणघातक रोगहरूको संक्रमण हुने गरेको भन्दै आँफूले त्यस्तो अवस्थाको अन्त्य गर्ने उल्लेख गरे ।
बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको पाइएपछि सोको दीर्घकालीन समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका हुन् ।
सो निर्वाचन जितेर सांसद हुँदै मन्त्रीसम्म बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले यस क्षेत्रका लागि कुनैपनि काम नगरेको भन्दै उनले मतदाताको गलत निर्णयका कारण देशभरका जनताले पाँच वर्षसम्म कालो दिन व्यहोर्नुपरेको बताए ।
आँफूले लोहोन्द्रा खोलाले स्थानीय क्षेत्रमा पुर्याउने गरेको क्षति प्रत्यक्ष देखेको बताउँदै उनले त्यसको समाधानका लागि निर्वाचन जितेपछि संघ तथा प्रदेश सरकारको बजेट परिचालन गरी तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै बेलबारी क्षेत्रमा बसपार्क निर्माण गर्न पनि आफूले पहल गर्ने उनले बताए । आफू स्वास्थ्य क्षेत्रकै जानकार भएकाले जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी शर्माको वचन छ ।












Discussion about this post