सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकामा एक युवकलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णु कुमार यादव, २६ वर्षीय जयकृष्ण यादव, करिब २७ वर्षीय कुन्दन यादव, २६ वर्षीय रणधिर यादव र २३ वर्षीय सुशील यादव रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। घटनामा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत असोज ३ गते साँझ ५ बजेर २५ मिनेटमा देवानगञ्ज गाउँपालिका–१ स्थित मध्येहर्षाहीको लक्ष्मीनारायण मन्दिर नजिक गोली प्रहार भएको थियो। बीपी चोकबाट करिब ८०० मिटर पूर्वोत्तरमा भएको उक्त घटनामा स्थानीय २४ वर्षीय निरज कुमार यादव घाइते भएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।















Discussion about this post