मोरङ :आफ्नै मामाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–८ मा आइतबार राति पाहुना आएका मामाको हत्या आरोपमा उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटी पक्राउ परेका हुन् ।
उनले धारिलो हतियार बाम्फोक दाउले टाउकोमा प्रहार गरेर ४२ वर्षीय मामा काजी महराको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
महरा ५ दिनदेखि उर्लाबारीस्थित बहिनी कल्पना पाँचकोटीको घरमा पाहुना गएका थिए । खाना खाएर सुतेका उनीमाथि भान्जा बहिनीका छोरा सुजनले राति बाम्फोकले प्रहार गरेको श्रेष्ठले बताएका छन् ।
निद्रामा रहेका बेला बाम्फोक प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहानका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । हत्या के कति कारणले भएको हो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।













Discussion about this post